जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको रौनक: आज धनुष यज्ञ

२०८१ मंसिर १८, मंगलवार ११:३१

जनकपुरधाम,१८ मंसिर । मिथिलाको ऐतिहासिक जनकपुरधाममा मङ्सिर महिनाको शुक्लपक्ष तिथिमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवले पूरै क्षेत्रलाई उत्सवमय बनाएको छ। सात दिनसम्म चल्ने यो महोत्सव अन्तर्गत सोमबार विवाहमण्डपमा फूलबारी लीला सम्पन्न भएको छ भने आज साँझ प्रतीकात्मक रूपमा भगवान् श्रीरामले जनक राजा द्धारा आयोजित धनुष यज्ञमा धनुष भङ्ग गर्ने छन्।

जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार, यो महोत्सव त्रेतायुगको पौराणिक कथा तथा मिथिला परम्परामा आधारित छ। मिथिलाका राजा जनकको प्रतिज्ञा अनुसार, जो कोही शिवजीको धनुष भङ्ग गर्न सक्षम हुनेछ, उसैसँग सीताको विवाह हुनेछ। यो अवसरमा, राम, लक्ष्मण, र गुरु विश्वामित्रले जनकपुरधाममा उपस्थित भएर धनुष यज्ञमा सहभागिता जनाए, जसको स्मरणमा हरेक वर्ष यस कार्यक्रमको आयोजना गरिन्छ।

सोमबार आयोजित फूलबारी लीलाले राम र सीताको पहिलो जम्काभेटको कथा झल्कायो, जहाँ रामले फूल टिप्ने क्रममा सीतालाई पहिलो पटक देखेका थिए। यस्तै, आजको धनुष यज्ञपछि क्रमशः तिलकोत्सव, मटकोर, स्वयम्बर, र शुभविवाह जस्ता कार्यक्रमहरू सम्पन्न हुँदैछन्।

भारतको अयोध्याबाट बाजागाजा, झाँकीसहित आएका जन्तीहरूको सोमबार महोत्तरीको मटिहानीमा भव्य स्वागत गरियो। मिथिला र अयोध्याबीचको सांस्कृतिक सम्बन्ध झल्काउने यस परम्परागत उत्सवले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।

सीताराम विवाह पञ्चमी महोत्सवले जनकपुरधाम र मिथिला क्षेत्रको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै यस क्षेत्रमा पर्यटकहरूको आकर्षण बढाएको छ। हरेक वर्ष लाखौँ श्रद्धालु र पर्यटक यस उत्सवमा सहभागी हुने गर्छन्।

साँझ धनुष यज्ञ सम्पन्न भएसँगै, महोत्सवका अन्य कार्यक्रमहरूमा व्यापक जनसहभागिता अपेक्षित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?