पत्रकार चाँदनी झामाथि प्रहरी दुर्व्यवहारप्रति धनुषा पत्रकार महासंघको आपत्ति

२०८१ मंसिर १८, मंगलवार ११:५६

जनकपुरधाम,१८ मंसिर । स्थानीय तहको उपनिर्वाचनका क्रममा धनुषाधाम नगरपालिका वडा नं. १ मा समाचार संकलन गर्न पुगेकी प्राइम टिभी तथा टिभी टुडेकी पत्रकार चाँदनी झामाथि प्रहरीद्वारा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ धनुषा शाखाले गम्भीर ध्यानाकर्षण भएको छ ।

यहीँ मंसिर १६ गते भएको वडाध्यक्ष पदको उपनिर्वाचनका क्रममा ठाकुर प्रसाद स्मृति भवन मतदान केन्द्रमा खटिएका प्रहरी नायव निरीक्षक (सई) अशोक झाले पत्रकार झामाथि परिचयपत्र देखाउँदा-देखाउँदै दुर्व्यवहार र हप्काउने कार्य गरेका थिए।

महासंघले घटनाको कडा शब्दमा भर्त्सना गर्दै महिला पत्रकारमाथि भएको दुर्व्यवहारको यथाशीघ्र छानबिन गरी दोषी प्रहरीमाथि कारबाही गर्न माग गरेको छ। महासंघले महिला पत्रकारमाथि यस प्रकारको दुर्व्यवहार प्रेस स्वतन्त्रता र पत्रकारको मर्यादामाथिको अतिक्रमण भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाप्रति खासै ध्यान नदिएको भन्दै महासंघले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ। महासंघले महिला पत्रकारमाथि यस्तो व्यवहार दोहोरिन नदिन कडा कदम चाल्न र दोषीलाई कारबाही गर्न जोडदार माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?