न्युजिल्याण्डद्वारा श्रीलंका पराजित

२०७९ कार्तिक १३, आईतवार ०५:११

१३ कार्तिक । अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ । शनिबार भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको हो ।

प्रतियोगितामा न्युजिल्याण्डको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको न्युजिल्यान्डले दोस्रो खेलमा भने वर्षाका कारण अफगानिस्तानसँग अंक बाँड्नु परेको थियो । अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले १०४ रनको शतकीय पारी खेल्दा डाअर्य्ल मिचेलले २२ रन बनाएका थिए । त्यस्तै मिचेल स्यान्टनर ११ रनमा अविजित रहँदा अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका लागि कसुन राजिथाले २ विकेट लिए भने महेश थिक्सना, धनन्जय डि सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराको भागमा समान १-१ विकेट रह्यो ।

१६८ रनको लक्ष्यसहित लिएर जबाफी ब्याटिङ गरेको श्रीलंका १९ ओभर २ बलमा अलआउट हुँदै १०२ रनमा समेटिएको थियो । श्रीलंकाका लागि कप्तान दासुन शनाकाले ३५ रन बनाए भने भानुका राजापाक्षले ३४ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्टले ४ विकेट लिए भने मिचेल स्यान्टनरको भागमा २ विकेट रह्यो । जितसँगै समूह ‘एक’ मा रहेको न्युजिल्याण्ड ३ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा छ भने २ अंक जोडेको श्रीलंका पाँचौं स्थानमा रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?