अष्ट्रेलियाद्वारा आयरल्याण्ड पराजित

२०७९ कार्तिक १५, मंगलवार ०४:४९

१५ अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । सोमबार भएको खेलमा घरेलु टोली अष्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाको ब्रिसबेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ६३ रनको अर्धशतकीय पारी खेले भने मार्कुस स्टोइनिसले ३५ रन बनाए । त्यस्तै मिचेल मार्शले २८ रन बनाई आउट भए भने टिम डेभिड १५ रनमा अविजित रहे । आयरल्याण्डका लागि बारी म्याककार्थीले ३ तथा जोश लिटलको भागमा २ विकेट रह्यो ।

१८० रनको लक्ष्य लिएर मैदान उत्रेको आयरल्याण्ड १८ ओभर १ बलमा अलआउट हुँदै १३७ रनमा समेटियो । आयरल्याण्डका लागि लोर्कान टुकरले अविजित रहँदै ७१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै ग्यारेथ डेलानीले १४ र पाउल स्ट्रर्लिङ र मार्क एडीएरले समान ११-११ रन बनाए । अष्ट्रेलियाका लागि प्याट कमिन्स, ग्लेन म्याक्स्वेल, मिचेल स्टार्क र एडम जाम्पाले समान २-२ विकेट लिए ।

जारी प्रतियोगितामा अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । जितसँगै समूह १ मा रहेको अष्ट्रेलिया ४ खेलमा ५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ भने ३ अंक जोडेको आयरल्याण्ड चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?