चुनाव प्रचारप्रचारमा खर्चमाथि छानबिन सुरु

२०७९ कार्तिक २३, बुधबार ०६:४६

 

२३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ । निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो ।

‘निर्वाचन आयोगबाटै पत्र आएपछि हामीहरुले त्यसलाई सूचना मानेर थप कागजात मगाएका छौं’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको छ । अरु थप विवरण पनि मगाइएको छ । सबै कागजात आएपछि अरु विस्तृत थाहा होला ।’

केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए । नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए ।

अख्तियारले संघीय तह बाहेक सबै प्रदेशमा सरकारीस्तरबाट निर्वाचनका दौरान हुने खर्च र राज्यको स्रोतसाधनको प्रयोगवारे समेत निगरानी थालेको दाबी गरेको छ ।राज्यकोषको दुरुपयोगको विषयमा भने निजामती वा सम्बन्धित निकायका कर्मचारीमात्रै छानबिनका दायरामा पर्छन । निर्वाचन वा मनोनयनबाट नियुक्त संघीय तथा प्रदेश तहका जनप्रतिनिधीलाई सरकारी रकम खर्च गर्ने अधिकार हुदैन । सम्बन्धित कार्यालयको लेखा उत्तरदायी अधिकारीहरुले नै यसको जिम्मेवारी लिनुपर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?