जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाइ मध्यनजर गर्दै मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ति जारी गरी मादक पदार्थ बिक्री वितरण र सेवनमा शनिबारबाट रोक लगाएको हो । आउँदो मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मादक पदार्थ बिक्री वितरण र सेवनमा निषेध गरिएको हो । निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६ (थ) भएको व्यवस्था अनुसार सर्बदलीय बैठक गरी जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रसाशन ऐन २०७८ को दफा ६ अनुसार रोक लगाइएको हो । शनिबारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको हो । सूचनाको बर्खिलाप निषेधित अवधिमा मादक पदार्थ ओसार प्रसार र बिक्री–वितरण गरेमा कानुन बमोजिम कारबाही हुने पनि कार्यालयले चेतावनी दिएको छ ।





