२७ कार्तिक । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि इंग्ल्यान्ड र पाकिस्तान भिड्दै छन् । आज (आइतबार) उपाधिको लागि यी दुई टोली भिड्न लागेका हुन् ।
फाइनल खेल खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा सुरु हुनेछ । इंग्ल्यान्डले भारतलाई हराउँदै फाइनलमा पुगेको हो भने पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गर्दै फाइनल उपाधि नजिक पुगेको । पहिलो खेलमा भारतसँग ४ विकेटले पराजित भएको पाकिस्तान, दोस्रो खेलमा जिम्बावेसँग एक रनले पराजित हुँदा, तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेट तथा चौथो खेलमा दक्षिण अफ्रिकालाई डीएल मेथड अनुसार ३३ रनले पराजित गरेको हो ।
यस्तै समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको हो । यता इंग्ल्यान्डले भने पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले, दोस्रो खेलमा आयरल्याण्डसँग डीएल मेथड अनुसार ५ रनले पराजित भएको थियो ।
त्यस्तै तेस्रो खेल वर्षाका कारण नभएपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग अंक बाँडेको थियो भने चौथो खेलमा न्युजिल्यान्डलाई २० रनले पराजित गरेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो । सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो ।
हेड टु हेडमा अहिसेसम्म यी दुई टिमबिच कुल २८ खेल हुँदा इंग्ल्यान्ड १८ खेलमा जित निकाल्दा पाकिस्तानले ९ खेलमा जित हासिल गरेको छ भने एक खेलको नतिजा विहिन भएको छ । पाकिस्तानले पहिलो पटक २००९ मा टी-२० विश्वकपको उपाधि जितेको भने इंग्ल्यान्ड भने २०१० को विजेता हो । आजको विजेता टोलीले वेस्ट इन्डिजसँग बराबरी गर्ने छन् । टी-२० विश्वकप अहिलेसम्म वेस्ट इन्डिजले मात्र दुई पटक उपाधि जितेको छ ।






