महोत्तरी, माघ २३ – पिपरा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सञ्चालन हुँदैछ। माघ २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने यस अभियानमा २,४१३ किशोरीलाई खोप दिइनेछ।
गाउँपालिका स्वास्थ्य शाखाका सह-संयोजक रणधिर यादवका अनुसार पालिकाका ६ वटा स्वास्थ्य संस्था तथा सबै सामुदायिक विद्यालयमा खोप उपलब्ध हुनेछ। विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरू तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइनेछ।
खोप सुरक्षित रहेको बताउँदै यादवले कुनै समस्या देखिएमा पिपरा जनता अस्पतालमा सम्पर्क गर्न आग्रह गरे। खोप अभियानलाई प्रभावकारी बनाउन पालिकाका सबै वडाका अध्यक्ष, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रतिनिधि, विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको समेत सहभागिता रहनेछ।
खोप लगाउँन पिपराको एकरहिया स्वास्थ्य चौकी, पिपरा जनता अस्पताल, सहोडवा स्वास्थ्य चौकी, रतौली स्वास्थ्य चौकी, बनौली स्वास्थ्य चौकी,अतरार आधारभुत स्वास्थ्य केन्द्रमा रहेको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार प्रत्येक १ लाख महिलामध्ये १४ जनालाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम हुन्छ। तर, सानो उमेरमै भ्याक्सिन लगाउँदा यो जोखिम कम गर्न सकिन्छ। सरकारले ९ देखि १४ वर्ष उमेर समूहलाई खोप लगाउने उपयुक्त समय मानेको छ।
विद्यालय नजाने किशोरीहरूको अभिभावकलाई खोप कार्यक्रम नछुटाउन अनुरोध गरिएको छ।






