कतारलाई पराजित गर्दै विश्वकप फुटबलमा इक्वेडरको विजयी सुरुवात

२०७९ मंसिर ५, सोमबार ०५:१०

५ मंसिर । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले कतारलाई २-० ले पराजित गरेको हो ।

कतारको अल बायत स्टेडियममा भएको खेलमा इक्वेडरको लागि कप्तान इनर भ्यालेन्सियाले २गोल गरे । खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई अगता दिलाएका थिए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले इक्वेडरको अग्रता दोब्बर बनाए ।

पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल भएन र खेल इक्वेडरले २-० ले आफ्नो पक्षमा पर्दै विश्वकपमा सुखद सुरुवात गर्यो । त्यसअघि भ्यालेन्सियाले तेस्रो मिनेटमा गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।

जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले ३ अंक जोडेको छ भने आयोजक कतारले भने हारबाट विश्वकपको सुरुवात गरेको छ । कतार विश्वकपको उद्घाटन खेलमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र बनेको छ । यसअघि कुनैपनि आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको थिएन ।

आज ३ खेल हुँदै
यस्तै कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई खेल हुनेछ । सोमबार हुने समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड र इरान भिड्दैछन् । यी दुईबीचको खेल नेपाली समय अनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ । यसैगरी समूह ‘ए’ अन्तर्गत दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्स आमने सामने हुने छन् । सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’ अन्तर्गत नै अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुको खेल रति १२:४५ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?