६ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ मा नेदरल्यान्ड्स विजयी हुँदा अमेरिका र वेल्सले बराबरी खेलेक छन् । सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० ले पराजित गर्यो भने अमेरिका र वेल्सले १-१ गोलको बराबरी खेले ।
सोमबार राति भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० ले पराजित गर्दै विश्वकप फुटबलमा विजयी सुरुवात गरेको हो । कतारको दोहास्थित अल थुमामा स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सको लागि कोडी गाक्पो र डाभी क्लासेनले समान १-१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले उत्कृष्ट पुनरागमन गर्दै २ गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गरेका हुन् ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को सहज जित दिलाए । जितसँगै समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा छ भने सेनेगलले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।
यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबलमा अमेरिका र वेल्सले भने १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ८२ औं मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । जसमा बेलले गोल गरे ।
त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकिदै दुवै टोलीले अंक बाँडे । बराबरीसँगै समूह ‘बी’ मा रहेका वेल्स अमेरिका समान १-१ अंक सहित क्रमश:तेस्रो र दोस्रो स्थानमा रहेका छन् । यता हिजो भएको पहिलो खेलमा भने इंग्ल्यान्डले इरानमाथि ६-२ को सानदार जित निकालेको थियो ।






