मोबाइल ब्यवसायीको चौंथो साधारणसभा हेटौंडामा शुरु, नीतिगत सुधारको एजेण्डा

२०८२ बैशाख २७, शनिबार १२:२७

काठमाडौं,२७ बैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो साधारणसभा बैशाख २७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना हुने भएको छ । मंगलबार महासंघले पत्रकार सम्मेलन आयोजना गर्दै साधारणसभा र त्यसको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने जानकारी गराएको हो ।

महासंघका केन्द्रीय उपाध्यक्ष तथा आयोजक समितिका संयोजक छतेन्द्र आचार्यले साधारणसभामा देशभरका ६० जिल्ला र सातवटै प्रदेशबाट करिब एक हजार मोबाइल व्यवसायी सहभागी हुने जानकारी दिए ।

सभामा मोबाइल व्यापारमा देखिएका साझा समस्याहरू—मोबाइल खरिदबिक्री, सेकेन्डह्यान्ड कारोबार, मर्मतसम्भारमा देखिएका नीतिगत अस्पष्टता, र अस्वाभाविक प्रतिस्पर्धाका विषयमा खुला र बन्द सत्रमा विस्तृत छलफल हुनेछ । यसबाहेक, व्यवसायीले मोबाइल विक्रीमार्फत पाउने ‘मार्जिन’ को विषय पनि विशेष बहसको एजेन्डामा पर्ने बताइएको छ ।

महासंघले विदेशिने युवालाई स्वदेशमै दक्ष बनाउन स्थानीय तहसँग सहकार्य गर्ने योजना पनि अघि सारेको छ । यसले रोजगारी सिर्जना गर्दै व्यवसायमा उर्जा थप्ने महासंघको अपेक्षा छ ।

साधारणसभामा विभिन्न मोबाइल तथा एसेसोरी ब्राण्डका १० वटा स्टल राखिनेछ । राभोज, साओमी, बीएन ट्रेडर्स, अल्टिमा, माइ पावर, आरती चार्जर, नोइज जस्ता कम्पनीहरूले विशेष अफरसहित आफ्नो स्टलमार्फत सेवा प्रदान गर्नेछन् ।

साधारणसभा हेटौंडा–४ मेनरोडस्थित रोयल पार्टी प्यालेसमा हुनेछ र सहभागी प्रतिनिधिहरू बैशाख २६ गते नै हेटौंडा पुग्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?