जनकपुरधाम २३ जेष्ठ- जनकपुरधाम, ११मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” नाराका साथ जनकपुरधाम-११ स्थित कन्या माध्यमिक विद्यालयमा एकदिने आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत आयुर्वेद तथा प्राकृतिक चिकित्सा शाखाको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यार्थीसहित शिक्षक ,शिक्षिका तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। योग गुरु मनोहर प्रसाद साहको नेतृत्वमा आयोजित कार्यक्रममा जोकिङ, अनुलोम–विलोम, सूर्य नमस्कार, भस्त्रिका प्राणायाम, बाहिरीय प्रणाम लगायतका योग अभ्यासहरू गराइएका थिए। सहभागीहरूले योग र आयुर्वेदिक जीवनशैलीबारे महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह, वार्ड नं. ११ का अध्यक्ष अर्जुन चौधरी, विद्यालयका प्रधानाध्यापक उमाकृष्ण लाल कर्ण, तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा मेयर शाहले स्वास्थ्य र शिक्षालाई जोड्दै यस्तो कार्यक्रम विद्यालय स्तरमै सुरु गर्नु अत्यन्त सराहनीय कदम भएको बताए। प्रधानाध्यापक कर्णले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा योगको योगदान अपरिहार्य रहेको बताउँदै धन्यवाद ज्ञापन गरे।
कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ जीवनशैलीप्रति चेतना जागृत गराएको विद्यालय प्रशासनले जनाएको छ।






