जनकपुरधाम जेष्ठ २६ – पर्साको वीरगञ्जमा आज दिउँसो भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ज्यान गुमाउनेमा भारतको बेतिया नरकटियागञ्ज निवासी ३० वर्षीय बिटु सर्राफ रहेका छन्।
पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित रेनुका पेट्रोल पम्प नजिकै गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बिआर ५५ बि ९१०४ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका चारै जनालाई बारा स्थित एलएस न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको थियो। उपचारको क्रममा बिटु सर्राफको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।
कार चालक गणेश सर्राफसहित अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






