जनकपुरधाम, जेठ २७ गते। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गाउँपालिकास्थित १५ शय्याको अस्पताल भवन निर्माणमा अनियमितता भएको भन्दै मंगलबार विशेष अदालतमा ठाकुरसहितमाथि मुद्दा दायर गरेको हो।
ठाकुर लुम्बिनी/डी. एण्ड एन. जे.भी. तथा डी. एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक हुन्। उक्त कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत कार्यक्रमअन्तर्गत १५ शय्याको अस्पताल निर्माणको ठेक्का लिएको थियो।
अख्तियारले ठाकुरसँगै औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादव, उपाध्यक्ष मीरा देवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुरलाई समेत प्रतिवादी बनाएको छ।
६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।
त्यस्तै पालिकाका तत्कालीन ६ वटै वडाका वडाध्यक्षहरू— वडा नं. १ का आशेश्वर यादव, वडा नं. २ का अमित कुमार यादव, वडा नं. ३ का गंगा प्रसाद यादव, वडा नं. ४ का शिवनाथ साह, वडा नं. ५ का प्रमेश्वर कुमार मण्डल र वडा नं. ६ का दिलिप कुमार साहमाथि पनि मुद्दा दायर गरिएको छ।
अख्तियारले पालिकाका तत्कालीन ईन्जिनियर सोनु साह, सव–ईन्जिनियरहरू सन्तोष कुमार मण्डल, बिनित कुमार साह, खरिदार मोहन कुमार मण्डल र मनोज कुमार यादवलाई समेत प्रतिवादी बनाएको छ।
धनुषा क्षेत्र नं. ३ (ख) बाट निर्वाचित ठाकुर पूर्व निर्माण व्यवसायी हुन्। पछिल्लो निर्वाचनमा एमाले प्रवेश गरेर उम्मेदवारी दिएका उनी भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः प्रदेश सांसदको पदबाट निलम्बनमा परेका छन्।






