जनकपुरधाम असार ०३ — जनकपुरधाम–ढल्केबर सडकखण्डबाट करिब ७.३ किलोमिटर पश्चिम, लक्ष्मिनिया गाउँपालिका–१, सोना माइ टोल (सोहनी) मा अवस्थित श्री सोमेश्वर नाथ मन्दिर धार्मिक आस्थाको एक प्रमुख केन्द्रको रूपमा परिचित हुँदै आएको छ।
होटल बाबाको धाबाबाट पश्चिमतर्फ करिब ४०० मिटरको दुरीमा रहेको यो मन्दिर पछिल्लो पाँच वर्षयता भक्तजनहरूको आस्थाको केन्द्र बन्दै आएको छ। विशेषतः साउन महिनाका सोमबारहरूमा यहाँ ठूलो संख्यामा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ।
त्यस्तै फागुन महिनामा शिवरात्री पर्व भव्य रूपमा मनाइन्छ, जसमा स्थानीय तथा वरपरका जिल्लाबाट समेत भक्तजनको उल्लेखनीय सहभागिता देखिन्छ।
स्थानीयहरूको विश्वास अनुसार, मन्दिरमा गरिएको पूजा–अर्चनाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ। प्राकृतिक शान्त वातावरण र श्रद्धाले भरिएको यो धार्मिक स्थल एकपटक घुम्नैपर्ने गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।






