२७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै छन् । मंगलबार पहिलो सेमिफाइनलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसिया भिड्न लागेका हुन् ।
दोहाको लुसेल रंगशालामा हुने अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । क्रोएसियालाई हराएर अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनाको साथ मैदान उत्रदैछ भने साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्ने सुरमा रहेको छ ।
अर्जेन्टिनाले हालसम्म दुई पटक विश्वकप उचाल्दा क्रोएसियाले भने विश्वकप उपाधि जित्न सकेको छैन । यसअघि अर्जेन्टिना र क्रोएसियाले पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । समूह चरणको भेटमा अर्जेन्टिना क्रोएसियासँग ३-० ले पराजित भएको थियो ।






