
जनकपुरधाम असार ६ -जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पस (राराब)मा बीबीएस तेस्रो वर्षका विद्यार्थीहरूलाई समयमै प्रवेशपत्र नदिइएपछि उत्पन्न तनावले स्थिति उग्र बनाएको छ। प्रवेशपत्र वितरणमा ढिलाइ गरिएको भन्दै विद्यार्थीहरू आक्रोशित बनेका थिए। विवाद चर्किएपछि क्याम्पसमा प्रहरी खटिएको थियो। स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले अखिल (क्रान्तिकारी) का स्ववियु सभापति मनिष यादव र विद्यार्थी नेता चमनप्रसाद गोइतलाई पक्राउ गरेको हो। प्रहरीले सम्झाउन खोज्दा अभद्र व्यवहार गरेपछि पक्राउ गर्नुपरेको धनुषाका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन्।
पक्राउको विरोधमा विद्यार्थीहरूले क्याम्पस चोकमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि पनि नाराबाजी गर्दै नेताहरूको तत्काल रिहाइको माग गरिरहेका छन्।
क्याम्पस प्रमुख वसन्त कर्णका अनुसार प्रवेशपत्र काठमाडौंबाट ढिलोगरी आइपुगेका कारण वितरणमा समय लागेको हो। यस्तै, राराबमा बीबीएस तेस्रो वर्षका १,२०० विद्यार्थी परीक्षा दिन तयार छन्। आज पहिलो दिन ‘बिजनेश ल’ विषयको परीक्षा सम्पन्न भएको छ।