धनुषा, आसार ८ — धनुषाधाम नगरपालिका वडा नं. ३ का वडाध्यक्ष जय नारायण यादवमाथि सार्वजनिक बाटो अतिक्रमण गरी त्यसमा प्रयोग गरिएको ग्राभेल अन्यत्र लगेको गम्भीर आरोप लागेको छ।
स्थानीयवासीका अनुसार धनुषाधामदेखि रघुनाथपुर जाने बाटो सरकारी नक्सा अनुसार २२ फिट चौडाइको रहेको छ। सडक डिभिजन कार्यालयले केही समयअघि उक्त सडकमा ग्राभेलसमेत गरिसकेको थियो। तर हाल वडाध्यक्ष यादवले अवैध रूपमा १० फिट मात्रै बाटो छोडेर बाँकी सडक खनेर त्यसको ग्राभेल अन्यत्र लैजाँदै गरेको बताइएको छ।
स्थानीयहरूले प्रत्यक्ष रूपमा बाँकी ग्राभेल हटाएर कहाँ लैजाँदैछ भन्ने कुरा देखेको दाबी गरेका छन्। उनीहरू भन्छन्, “यो खुला ढंगले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण र भ्रष्टाचार हो।”
धनुषाधाम धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण नगरी हो। यहाँ जनप्रतिनिधिहरूले संरक्षण, विकास र जनसेवामा भूमिका खेल्ने अपेक्षा गरिन्छ। तर स्थानीयवासीहरू जनप्रतिनिधिहरूमै व्यापारीमुखी सोच हावी भएर नागरिकलाई असहज बनाउने प्रवृत्तिले निराश भएका छन्।
उक्त घटनाको रिपोर्टिङका लागि ग्राउन्ड रिपोर्टिङ गर्न गएकी सञ्चारकर्मी चान्दनी झालाई वडाध्यक्ष यादवले खुलेआम धाकधम्की दिएको आरोपसमेत लागेको छ। यसले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानिय स्तरका जनप्रतिनिधिबाटै सार्वजनिक सम्पत्तिमा अनियमितता र प्रेसमाथि दमन हुनु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको भन्दै स्थानीयहरूले कडा आलोचना गरेका छन्।






