कचनारी प्रहरी र बीओपीको संरक्षणमा तस्करी निर्बाध, समाचार आएपछि पनि मौन सरोकारवाला निकाय

२०८२ असार १०, मंगलवार १९:५५

लहान १० असार।सिरहाको बरियारपट्टी गाउँपालिका–१ अन्तर्गत छोटकटोल हुँदै लहानसम्म भारतबाट दैनिक रूपमा अवैध रूपमा सामग्री भित्रिने क्रम रोकिएको छैन। चिनी, प्याज, तयारी कपडा, मिठा तथा किराना सामानजस्ता वस्तुहरू ट्रली, मोटरसाइकल र मालवाहक सवारीमार्फत खुलेआम भित्रिने गरेका छन्।

सबैभन्दा चिन्ताजनक पक्ष, कचनारीस्थित नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) बढहरीकै अगाडि यस्ता गतिविधि भइरहे पनि कुनै पनि निकायले चासो देखाएको छैन।

स्थानीयवासीहरूले तस्करहरूबाट मासिक रूपमा रकम असुली हुने गरेकाले सुरक्षाकर्मीहरू मौन रहेको आरोप लगाएका छन्। “सामान अगाडि जाँदा पनि प्रहरीले नदेखेजस्तो गर्छ, उनीहरूको मिलेमतोमै तस्करी चलिरहेको छ,” एक स्थानीयले नाम नखुलाउने सर्तमा भने।

यसबारे स्थानीय सञ्चारमाध्यम ‘नेत्र दैनिक’ ले पटक–पटक समाचार प्रकाशित गर्दै आएको छ। तथापि, समाचार बाहिर निस्किए पनि तस्करी यथावत् छ। न त कचनारी प्रहरी, न बीओपी, न नै कुनै सरोकारवाला निकायले आधिकारिक प्रतिक्रिया जनाएका छन्।

तस्करहरू गाउँकै बाटो भएर मोटरसाइकल र गाडीमा माल ओसारिरहेका छन्, जसका कारण स्थानीयवासीहरू त्रासमा छन्। बालबालिका, वृद्धवृद्धा र महिलाहरूको आवतजावतमा समेत असहज अवस्था सिर्जना भएको छ।

स्थानीयवासीहरूले तस्करी नियन्त्रण गर्न सुरक्षा संयन्त्रमा सुधार ल्याई कडाइका साथ निगरानी गर्न सरकारसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?