जनकपुरधाम असार १५ –धनौजी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष उदय साहले बिना कार्यादेश नाला निर्माण सुरु गरेपछि स्थानीयवासीले विरोध जनाएका छन्। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले कुनै पनि नयाँ कामका लागि कार्यादेश जारी नभएको दाबी गरेका छन्। तर, वडा अध्यक्षलाई मौखिक रूपमा अनुमति दिएको आरोप लाग्दै आएको छ।
गाउँसभापछि नयाँ काम सञ्चालन नगर्ने भनिए पनि असार १५ पछि काम सुरु गरिएको छ। असार २४ गतेभित्र भुक्तानी प्रक्रिया टुंग्याउनुपर्ने भएकाले १० दिनमै निर्माण सक्ने र कागज मिलाएर बजेट निकासा गर्ने योजना रहेको बताइएको छ।
यस विषयमा उपाध्यक्ष रामबति मण्डलले निगरानी गरिरहेको बताएकी छन्। वडाध्यक्ष साहले भने किसानहरूलाई सहज बनाउन आकस्मिक रूपमा नाला निर्माण गरिन लागेको प्रतिक्रिया दिएका छन्।






