सिराहा — परदेशी हस्पिटलमा वडाध्यक्षसहित तीनजना तोडफोड आरोपमा पक्राउ

२०८२ असार १५, आईतवार २२:४३

सिराहा, असार १५— सिराहा जिल्लाको सिराहा नगरपालिका–६ स्थित (प्रादेशिक) हस्पिटलमा तोडफोड र ढुंगा प्रहार गरेको आरोपमा वडा नम्बर ६ का वडाध्यक्ष इन्द्रजित यादवसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय जनप्रतिनिधि भएर समेत अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अशान्ति मच्चाएको आरोप उनीहरूमाथि लागेको हो। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी अनन्त राम शर्माका अनुसार पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।

 

एसपी शर्माले हस्पिटलजस्तो संवेदनशील स्थानमा तोडफोड र ढुंगा मुढा गर्नु गम्भीर अपराध भएको बताउँदै दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएका छन्। पक्राउ परेकाहरूले अस्पतालको कामकाजमा अवरोध सिर्जना गरेको, सार्वजनिक शान्ति भङ्ग गरेको र अस्पताल प्रशासन तथा सेवाग्राहीलाई त्रास फैलाएको अभियोग छ।

हस्पिटल प्रशासनले समेत सार्वजनिक रूपमा घटना प्रति चिन्ता व्यक्त गर्दै अस्पतालमा शान्त वातावरण कायम राख्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ। यस घटनाले स्थानीय तहका जनप्रतिनिधिहरूद्वारा हुने शक्ति प्रयोग र दुरुपयोगबारे प्रश्न उठाएको छ।

हाल घटनाबारे थप प्रमाण संकलन र बयान लिने काम जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?