२८ मंसिर । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनालाई विजयी गराउन जुलियन अल्भारेजले २ गोल गर्दा कप्तान लियोनल मेस्सीले एक गोल गरे । दोहाको लुसेल रंगशालामा भएको खेलमा खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई डिबक्स भित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।जसमा मेस्सिले गोल गरे । विश्वकपमा मेस्सीको अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल समेत हो । यसअघि गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान समेत मेस्सीले तोडेका छन् ।

त्यस्तै मेस्सीले अर्जेन्टिनाका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको विश्वकपमा २५ खेलको कीर्तिमान समेत बराबरी गरेका छन् ।यस्तै खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । उनले काउन्टर याट्याकमा गोल गरेका हुन् । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा अर्जेन्टिनाले थप एक गोल गर्यो ।
खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए । उनले मेस्सीले असिस्ट गरेको बललाई जाली चुमाएका थिए । अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । हारसँगै क्रोएसियाको विश्वकपबाट बाहिरिएको छ । जितसँगै अर्जेन्टिनाले यसअघि २०१८ को विश्वकपमा समूहचरणमा क्रोएसियासँग ३-० लेनै हारेको खेलको बदला समेत लिएको छ । फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल आज (बुधबार) राति हुनेछ ।






