जनकपुरधाम असार १६— जनकपुरको ऐतिहासिक तथा धार्मिक गन्तव्य जानकी मन्दिरको ठीक दया पट्टी र जानकी चौकी अगाडि रहेको अरगजा पोखरीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । पोखरीमा दैनिक २०–२५ केजीसम्म माछा मर्ने गरेका छन् भने अहिले दुर्गन्ध निस्किन थालेको छ ।
स्थानीयवासीहरूका अनुसार पोखरीको पानी अत्यधिक फोहोर भएपछि दुर्गन्ध फैलिन थालेको हो । यहाँका क्लिनिकहरूबाट निस्कने अस्पतालजन्य फोहोर, बच्चाहरूका डाइपर र पर्यटकहरूले फालेका फोहोरले पोखरी झनै प्रदूषित बनेको छ ।
वडा नं. १० का अध्यक्ष मिथिलेश कर्णलाई पटक–पटक गुनासो गर्दा पनि कुनै पहल नभएको भन्दै स्थानीयहरू आक्रोशित छन् । उनीहरूका अनुसार नगर प्रमुख (मेयर)ले समेत कुनै चासो नदेखाएका कारण जनकपुरको ‘मेन मुटु’ मानिने जानकी मन्दिर वरपरको वातावरण दुर्गन्धित बन्दै गएको छ ।
नगरपालिकाले वास्ता नगरेपछि पोखरी र वरपरको सरसफाइमा अहिले केवल स्थानीयवासीहरूले नै चासो राखेका छन् । उनीहरूले ऐतिहासिक तथा धार्मिक महत्वको पोखरी तत्काल संरक्षण गर्न माग गरेका छन् ।






