जनकपुरधाम, १७ असार ।मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलवार जनकपुरधामस्थित मधेश भवन परिसरमै रहेको मधेश प्रदेश प्रहरी गणको अनुगमन गर्नुभएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामको निधी भवन नजिकै रहेको प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरूले पुराना र जोखिमपूर्ण गोदाम तथा भवनहरू सफाइ गरी मर्मतपछि हाल गण कार्यालय र बसोबासका रूपमा प्रयोगमा ल्याउँदै आएका छन्।
तर प्रहरी कर्मचारीहरूलाई बसोबासमा समस्या रहेको खुलेको छ। अत्यधिक गर्मी हुने उक्त भवनमा पंखाको उचित व्यवस्था नरहेको र खानेपानीको समेत अभाव रहेको जानकारी प्रहरी अधिकृतहरूले मुख्यमन्त्री सिंहलाई गराएका थिए।
जनताको सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीहरूको समस्या समाधान गर्न प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री सिंहले गण व्यवस्थापनका लागि विभिन्न मन्त्रालयहरूमार्फत यथेष्ट सहयोग गर्ने आश्वासन दिनुभयो।
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहलाई गणपति प्रहरी उपरीक्षक नारायण रण्जितकार, प्रहरी निरीक्षक बेचन यादव लगायतका अधिकारीहरूले प्रहरी गणको अवस्था, भौतिक संरचना तथा दैनिक समस्याबारे जानकारी गराएका थिए।






