जनकपुरधाम, असार १७ — जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका काका बासुदेव प्रसाद विमलको छुरा प्रहार गरी हत्या गरिएको छ।
उपमहानगरपालिका वडा नम्बर १५ रामपुरका करिब ७५ वर्षीय विमललाई उनका आफ्नै ज्वाइँले छुरा प्रहार गरेको आफन्तहरुले बताएका छन्। बुधवार बिहान विमलमाथि वडा नम्बर २१ कुर्था निवासी ज्वाइँ बेचन महासेठले घरायसी विवादका कारण छुरा प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
छुरा प्रहारबाट गम्भीर घाइते भएका विमलको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाको विषयमा सुक्ष्म अनुसन्धान सुरु गरिएको छ भने फरार रहेका बेचन महासेठको खोजी कार्य तीव्र पारिएको छ।






