सिरहाको बुढियाचापमा शंकास्पद मृत्यु : मृतककी श्रीमतीसहित दुई पक्राउ

२०८२ असार १८, बुधबार २२:४२

सिरहा असार १८ — सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार एक पुरुषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले मृतककी श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार बिहान बुढियाचाप गाउँका ३५ वर्षीय अजय महरा छिमेकीको खेत नजिकै आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा मृत भेटिएका थिए। शवको अवस्था हेर्दा हत्या गरिएको आशंका प्रहरीको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा शंका लागेर मृतककी श्रीमती र अर्का एक युवकलाई नियन्त्रणमा लिइएको छ।

डिएसपी पासवानका अनुसार घटनाको वास्तविक कारण र प्रकृति शव परीक्षण प्रतिवेदन आएपछि थप स्पष्ट हुने जनाइएको छ। मृतकको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ।

प्रहरीले अहिले पनि घटनास्थल आसपास र मृतकका परिवारजन तथा चिनजानी व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ। प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?