जनकपुरधाम असार २०। धनुषा जिल्लाको नेपाल–भारत सीमास्थित दुहबी नाकामा बिहीबार साँझ सशस्त्र प्रहरी बल (एपीएफ) र तस्कर समूहबीच भिडन्त भएको छ।
दशगजामा तस्करी नियन्त्रणको प्रयासकै क्रममा तस्कर समूहले प्रहरीमाथि आक्रमण गर्दा प्रहरीले आत्मरक्षाका लागि १४ राउन्ड गोली प्रहार गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। तीमध्ये ९ राउन्ड अश्रुग्यास र ५ राउन्ड जिन्दागोली रहेका छन्।
भिडन्तमा एक जना असईसहित तीन जना प्रहरी घाइते भएका छन्। एकको खुट्टामा भालाले प्रहार भएको जनाइएको छ। घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामग्री जफत गर्ने क्रममा तस्कर समूहले आक्रमण थालेपछि स्थिति तनावपूर्ण बनेको हो। झडपपछि तस्कर समूहका सदस्यहरू भने फरार भएका छन्।
घटनापछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अझै कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।






