चितवन — चितवनको रत्ननगर नगरपालिका–८ चित्रसारीस्थित बुढी राप्ती नदीमा गोहीको आक्रमणबाट एक युवाको ज्यान गएको छ ।
गए राति माछा मार्ने क्रममा स्थानीय २७ वर्षीय अभिषेक माझीमाथि गोहीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
मंगलबार राति करिब ९ बजे अभिषेक माझी आफ्ना ४५ वर्षीय स्थानीय राजकुमार माझीसँग नदी किनारमा माछा मार्दै थिए । त्यसक्रममा गोहीले अभिषेकलाई नदीमा तानेर लगेको थियो ।
घटनापछि रत्ननगर र मैनाहाका सुरक्षाकर्मीले खोजी कार्य जारी राख्दा राति १:२० बजे माछा मारेको ठाउँदेखि करिब २ सय मिटर उत्तरतर्फ खोला किनारमै अभिषेकको शव फेला परेको प्रहरीको भनाइ छ ।
स्थानीयलाई नदी आसपास सतर्क रहन प्रहरीले आग्रह गरेको छ






