एसपीलाई फोनमै धम्क्याएपछि जसपा मधेश अध्यक्ष अशोक यादवमाथि पक्राउ पूर्जी

२०८२ असार २०, शुक्रबार १८:०५

सर्लाही असार २०— जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध सर्लाही प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ।

सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्र कुमार खड्कालाई फोनमा अश्लील शब्दावली प्रयोग गर्दै कडा भाषामा धम्क्याएको अडियो सार्वजनिक भएपछि यादवमाथि ‘आपराधिक उपद्रव’को अभियोग लाग्दै पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए।

केही दिनअघि सार्वजनिक भएको टेलिफोन संवादमा अध्यक्ष यादवले एसपी खड्कामाथि ‘मधेशमा लुट्न आएको’ आरोप लगाउँदै सरकारी संयन्त्र नै भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका थिए। एसपी खड्काले उनलाई ‘कुरा बुझेर बोल्नू’ भनेपनि विवाद गालीगलौजसम्म पुगेको थियो।

विवादित अडियो सार्वजनिक भएसँगै प्रहरीले अध्यक्ष यादवको खोजी तीव्र पारेको छ। यही क्रममा हिजो राति प्रहरी टोली उनलाई नियन्त्रणमा लिन घर पुगेको भए पनि यादवका परिवार र गाउँलेहरूको अवरोध तथा झडपका कारण पक्राउ प्रयास असफल भएको थियो। यादव पक्षधरहरूले प्रहरीको गाडीमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ।

सर्लाहीको स्थानीय राजनीति नै तातेको यो घटनाले जसपा भित्रै पनि तरंग ल्याएको छ। सार्वजनिक पदमा बसेका नेताले प्रहरी प्रमुखमाथि गालीगलौज गरेको घटनाले कानुनी निकास कुन दिशामा पुग्छ भन्ने चासोसमेत थपिएको छ।

पक्राउ पूर्जी जारी भएसँगै अध्यक्ष यादव प्रहरी फन्दामा पर्ने वा कानुनी लडाइँमा जाने भन्ने कुराले अब चर्चा पाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?