अविनाश झाकी पत्नी अंशा सदाको मृत्युपछि निष्कर्ष : हत्या होइन, आत्महत्या हो

२०८२ असार २०, शुक्रबार २२:४६

जनकपुरधाम, असार १९। चर्चित हास्य–व्यंग्य टेलिशृंखला कलकतिया बाली की मुख्य पात्र अंशा सदाको मृत्यु घटनामा हालसम्म कुनै आपराधिक संलग्नता फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित आफ्नै कोठामा असार १० गते राति सालको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी अंशाको घटना आत्महत्या नै भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरी उपरीक्षक बरुण बहादुर सिंहले बताए।

घटनापछि शव पोस्टमार्टमका लागि पठाइएको थियो भने घटनास्थलबाट उनका विद्युतीय उपकरणहरू समेत जफत गरी परीक्षण गरिएको थियो। तर जफत गरिएका सामाग्री र अनुसन्धानमा संकलित अन्य तथ्यहरूबाट कुनै आपराधिक संकेत नदेखिएको प्रहरी स्रोतको दाबी छ।

२७ वर्षीया अंशा सदा पछिल्लो समय कलकतिया बाली टेलिशृंखलामार्फत तराईमा अत्यन्तै लोकप्रिय बनेकी थिइन्। करिब ६ महिनाअघि मात्र उनले अभिनेता अविनाश झासँग विवाह गरेकी थिइन्।

प्रहरीले घटनाबारे थप पृष्ठभूमि पत्ता लगाउन १० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको र आत्महत्याको कारण खुल्न बाँकी रहेको जनाएको छ।

अंशा सदाको असामयिक निधनले मनोरञ्जन क्षेत्र र उनका प्रशंसकहरूलाई गहिरो शोकमा पारेको छ। प्रहरी अनुसन्धान भने अझै जारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?