आसार २८ -जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीका केन्द्रीय सदस्यले सार्वजनिक कार्यक्रममा कालोमोसो छ्यापेका छन्।
शुक्रबार रौतहटबाट सुरु गरिएको जनसंवाद यात्राका क्रममा शनिबार बिहान करिब ११ बजेतिर बारा जिल्लाको गढीमाई नगरपालिका–३, दहियाचोकमा साहमाथि मोसो प्रहार भएको हो। साहका अनुसार केन्द्रीय सदस्य विकास सिंहको समूहले योजनाबद्ध रूपमा आफूमाथि कालोमोसो छ्यापेका हुन्।
‘जनसंवाद यात्रामा खाना खाएर निस्किँदै गर्दा अध्यक्ष सिके राउतका नजिकका विकास सिंहले मलाई कालोमोसो लगाइदिए,’ साहले आरोप लगाए। उनका अनुसार यात्राका कारण आफूलाई निरन्तर धम्की आइरहेको थियो।
साह, कोषाध्यक्ष इन्जिनियर सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य बिरेन्द्र साह सोनारको नेतृत्वमा सुरु गरिएको उक्त यात्राले पार्टीभित्र लोकतन्त्र सुदृढ पार्न र डा. राउतको परिवारवादविरुद्ध आवाज उठाउन थालेको उनीहरूको भनाइ छ।
उनीहरूले स्वतन्त्र मधेश आन्दोलनबाट पार्टी निर्माणमा योगदान दिएका नेताहरूमाथि डा. राउतले अनुशासनको नाममा कारबाही र षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका छन्।
यता, जनमतका अर्का केन्द्रीय सदस्य विपी साहले मोसो प्रकरणलाई राजनीतिक र लोकतान्त्रिक मर्यादाविपरीतको कार्य भन्दै गम्भीर छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।






