कपिलवस्तु बस दुर्घटनामा २९ जना घाइते, ३ को अवस्था गम्भीर

२०८२ असार २९, आईतवार १८:५९

कपिलवस्तु, असार २८। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस आज बिहान करिब चार बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले जानकारी दिनुभयो ।

बसमा ३० जना यात्रु सवार थिए । तीमध्ये २९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ भने २० जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको डीएसपी अधिकारीले बताउनुभयो । घाइतेहरूलाई उद्धार गरी संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा लगिएको छ भने केहीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । दुर्घटनापछि सडक एकतर्फी सञ्चालनमा आएको छ र बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बुटवल रिफर गरिएका गम्भीर घाइतेहरू :
१. जि. सल्यान बागचौर नपा–१० की ७७ वर्षीया देवी बुढाथोकी – टाउको र शरीरका विभिन्न भागमा चोट
२. जि. सल्यान सारदा नपा–१२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी – टाउकोमा चोट
३. जि. दाङ तुलसीपुर उ.म.न.पा.–११ का ३५ वर्षीय श्रीधर अधिकारी – बायाँ हातमा चोट

चन्द्रौटामा उपचाररत घाइतेहरू :
घाइतेहरूको विस्तृत नामावलीमा मोतिलाल एरी, कोसिस गौतम, अनिता चलाउने, सचिला नेपाली, टुककुमारी श्रेष्ठ, चित्रप्रसाद धिताल, ओमप्रकाश खड्का, रुपा चौधरी, हेमराज वली, खड्क ब. पुन, भीमबहादुर बि.क., ईन्द्र ब. बि.क., ललित शर्मा, सन्दिप वली, विशाल बोहोरा, शर्मिला नेपाली, रस्मी बोहोरा, बेद बहादुर वली, महेन्द्र दराई, धनराज गौतम, आधार गौतम, सिता बस्नेत, निशा के.सी., सन्तोष शर्मा, रमेश सुनार र लेखराज पाण्डे रहेका छन् । उनीहरूमध्ये अधिकांशको टाउको, हात वा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?