जनकपुरधाम असार २९ — विद्यार्थी जनमत संघ, राजर्षी जनक विश्वविद्यालय समितिले धनुषा जिल्लामा अटो–रिक्सा तथा ई–रिक्सा सञ्चालनका क्रममा देखिएका अव्यवस्थाहरू नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ।
विद्यार्थी जनमत संघका अध्यक्ष तथा स्ववियु सभापति पदका उम्मेदवार सशिकान्त मण्डलद्वारा बुझाइएको उक्त ज्ञापनपत्रमा जनकपुरधाम लगायत गाउँपालिका र नगरपालिका क्षेत्रमा अनियन्त्रित रूपमा सञ्चालन हुँदै आएका अटो र इ–रिक्सा व्यवस्थापन गर्न माग गरिएको छ। सडकमा जताततै रोक्ने, भाडादर मनोमानी तरिकाले लिने, दैनिक यात्रुहरूलाई सास्ती हुनेजस्ता समस्याहरू न्यूनीकरण गर्न प्रभावकारी अनुगमन र उचित नियमावली लागू गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा रिक्साका चालकलाई अनुमति पत्रको व्यवस्था गर्ने, तोकिएको ठाउँमा मात्र रिक्सा रोक्ने व्यवस्था मिलाउने, उचित भाडादर निर्धारण गर्ने तथा रिक्सा स्टेन्डको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
विद्यार्थी जनमत संघले माग पूरा नभएमा सडक आन्दोलनमा उत्रन समेत चेतावनी दिएको छ।






