वीरगञ्ज, आसार ३२— वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा सक्रिय भएको छ। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू आज प्रभावित क्षेत्रमा पठाइएको छ।
मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार विहान वारुणयन्त्रहरू प्रभावित क्षेत्रतर्फ पठाउँदै खानेपानी समस्या समाधानमा प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताए। एक वटा वारुणयन्त्रले ५ हजार लिटर क्षमता बोकेको छ, जसअनुसार ८ वटा वारुणयन्त्रमार्फत एकपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिनेछ।
यी वारुणयन्त्रहरू २४ घण्टा परिचालित रहने छन् भने यसको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ र सञ्चालन नेपाली सेनाले गर्नेछ। यसअघि प्रदेश सरकारले वन कार्यालयका तीन वटा ट्याङ्कर परिचालन गरिसकेको छ। साथै, नेपाली सेनाबाट ७ वटा ट्याङ्कर र एउटा अतिरिक्त वारुणयन्त्र समेत पठाउने तयारी गरिएको छ।
सुक्खा र पानीको संकटले प्रभावित भएका नागरिकको समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकार, स्थानीय तह र दातृ निकायसँग समन्वय गरी साधनस्रोतको अधिकतम उपयोग गर्ने जनाएको छ।






