गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोट तनावमा, कानुनी उपचारमा जाने चेतावनी

२०८२ श्रावण २, शुक्रबार १८:५३

काठमाडौं, साउन २ । गायिका एलिना चौहानसँग सम्बन्धविच्छेदपछि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आइरहेका कारण उनका पूर्वपति विष्णु सापकोट आफू गम्भीर मानसिक पीडामा रहेको बताएका छन् ।

 

सन् २०८१ साल माघमा एलिना र विष्णुबीच सम्बन्धविच्छेद भएको थियो । दुवैको वैवाहिक सम्बन्ध करिब १० महिना मात्र टिकेको थियो । सम्बन्धविच्छेदपछि सामाजिक सञ्जालमा भइरहेको आलोचना र चरित्र हत्याको प्रयासले आफूलाई गहिरो मानसिक असर परेको सापकोटले बताएका छन् ।

 

‘कठोर शब्द, धम्कीपूर्ण सन्देशहरू, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरूले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रुपमा, न मानवीय रुपमा, न कानुनी रुपमा उचित ठहर्छ ।’

 

सापकोटले आफूले अष्ट्रेलियामै व्यक्तिगत मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित कानुनी प्रक्रिया अघि बढाइसकेको समेत बताएका छन् ।

एलिना चौहानले भने सम्बन्धविच्छेदपछि विभिन्न साक्षात्कार र मिडिया अन्तर्वार्तामा सम्बन्धबारे खुलेर बोल्दै आएकी छन् । उनले सम्बन्धविच्छेद गर्नुको कारण आफूले सहनै नसक्ने अवस्थासम्म पुगेको उल्लेख गर्दै आएकी छन्, जसका कारण विष्णुप्रति सामाजिक सञ्जालमा टिप्पणी हुने गरेको छ ।

 

विष्णु सापकोटले भने पूर्व सम्बन्धबारे सार्वजनिक रूपमा नबोल्नु आफ्नो निजी निर्णय रहेको बताएका छन् । ‘हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठानिनँ,’ उनले उल्लेख गरेका छन् ।

 

उनले सम्बन्धविच्छेद दुवैको सहमतिमा भएको स्मरण गराउँदै त्यस विषयमा पुनः टिप्पणी गर्नु अदालतको पनि अपमान हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?