संगठनात्मक अनुशासन कडाईका साथ लागु गरिने : डा. जयकान्त राउत

२०८२ श्रावण ४, आईतवार १०:१२

काठमाडौँ, ४ साउन ,चन्दन रजक -जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीभित्र देखिएका अराजक र अनुशासनहीन गतिविधिहरु चाँडै अन्त्य गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा हिजो संचारकर्मीहरूसँग कुरा गर्दै डा. राउतले पार्टीभित्र कडा संगठनात्मक अनुशासन लागू गरिने बताएका हुन् । “कडा अनुशासनले नेताकार्यकर्तामा जवाफदेहिता, नैतिकता र उत्तरदायित्वको भावना पैदा गर्छ,” उनले भने, “यसले दीर्घकालीन राजनीतिक संस्कार विकासमा टेवा पुग्छ ।”

उनले अनुशासनहीनताका कारण संगठनमा अराजकता बढ्ने र पार्टीको निर्णय प्रणाली नै कमजोर हुने उल्लेख गरे ।
डा. राउतले अहिले जनमत पार्टी तथा डा. सीके राउतप्रति जनताको आकर्षण बढ्दो रहेको बताए । “समग्र मधेश र देशले नै डा. सीके राउतसँग ठूलो आशा र अपेक्षा राखेको छ,” उनले जोड दिए ।

उनका अनुसार पार्टीको लोकप्रियताबाट डराएका विरोधीहरुले विभिन्न षडयन्त्र र घेराबन्दी गरेर जनमत पार्टी र नेतृत्वमाथि आक्रमण गर्ने प्रयास गरिरहेका छन् ।

“पार्टी र नेतृत्वमाथि हुने सबै किसिमका षडयन्त्रपूर्ण गतिविधिको डटेर प्रतिकार गरिनुपर्छ,” डा. राउतले नेताकार्यकर्ताहरुलाई आह्वान गरे ।

जनमत पार्टीलाई नेपालको सबैभन्दा अनुशासित र मर्यादित राजनीतिक संगठन बनाउने लक्ष्य आफूहरुको रहेको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?