जनकपुरधाममा साउनको तेस्रो सोमबारको अवसरमा नि:शुल्क मेहेन्दी कार्यक्रम सम्पन्न

२०८२ श्रावण १२, सोमबार १२:०१

जनकपुरधाम, साउन १२ । आज साउन महिनाको तेस्रो सोमबार, हिन्दू परम्पराअनुसार भगवान शिवको प्रिय दिनका रूपमा विशेष श्रद्धा र आस्थाका साथ मनाइएको छ। साउन महिनाभर विशेषगरी सोमबारका दिन हिन्दू महिलाहरूले व्रत बसेर शिवको पूजा–अर्चना गर्ने परम्परा रहिआएको छ। विवाहित महिलाहरूले श्रीमानको दीर्घायुको कामना र अविवाहित कन्याहरूले सुयोग्य वर पाउने आशासहित ब्रत बस्ने चलन छ। हरियो पहिरन, चुरा, र हातमा मेहेन्दी लगाएर यो पर्वलाई उत्सवका रूपमा मनाउने गरिन्छ।

यसै अवसरमा रोट्र्याक्ट क्लब जनकपुरधामको आयोजनामा सँगै उर्वशी ब्यूटी पार्लरर र शिव युवा कम्युनिटी (शिव मन्दिर, शिवचोक) को सहकार्यमा नि:शुल्क मेहेन्दी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत जनकपुरधामका असहाय, गरिब तथा इच्छुक महिलाहरूका हातमा सेवा भावपूर्वक मेहेन्दी लगाइयो।

कार्यक्रमको मुख्य उद्देश्य “रंगीन परम्परा, सेवा र सौन्दर्यको संगम” रहेको थियो। अभियानमा उर्वशी ब्यूटी पार्लर की ब्यूटिसियन संगीता गुप्ता सहित स्थानिय कलाकारहरू र युवाहरूले स्वेच्छिक सेवा प्रदान गरेका थिए।

कार्यक्रम संयोजनमा रजत नारायण लाल कर्णको नेतृत्व रहेको थियो।  रोट्र्याक्ट क्लब जनकपुरधामको का अध्यक्ष विकाश साहले भने, “यस अभियानले धार्मिक आस्था, सांस्कृतिक चेतना, सेवा भावना र महिला सशक्तिकरणलाई एकसाथ जोड्ने सकारात्मक प्रयास गरेको छ।”

जनकपुरधाम वार्ड नं. ४ की सामाजिक अगुवा प्रिन्सी साहले कार्यक्रममा बोलेकी थिइन्, “यस्ता सांस्कृतिक गतिविधिहरूले महिलामा आत्मबल, उत्साह र सामाजिक सहभागिता बढाउँछन्, साथै स्थानीय कला र परम्पराको संरक्षणमा समेत सहयोग गर्छन्।”

कार्यक्रममा रोट्र्याक्ट क्लब जनकपुरधामका उपाध्यक्ष शालु कर्ण,सचिव राजनन्दिनी चौधरी,को–अध्यक्ष सन्तोष साह,सदस्यहरू अंशु झा, नितेश सिंह राजपूत, शंकर दास, पूजा सिंह, वर्षा साह लगायतका स्वयंसेवकहरू सक्रियताका साथ सहभागी थिए।

उनीहरूले महिलाहरूका हातमा आकर्षक मेहेन्दी कोरेर सांस्कृतिक सेवामा उल्लेखनीय योगदान दिएका थिए।

साउनको पवित्र महिनामा गरिएको यस्तो सामाजिक र धार्मिक अभियानले धार्मिक श्रद्धा, सामाजिक उत्तरदायित्व, र सांस्कृतिक संरक्षणको समन्वयलाई थप मजबुत बनाएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?