जनकपुरधाम, साउन १४ । मानव बेचबिखन विरुद्ध दिवस २०२५ को अवसरमा माइती नेपाल मधेस प्रदेशले जनकपुरधाममा विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक मान्यताहरूमा रूपान्तरण ल्याउने र लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने उद्देश्यले संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो।
कार्यक्रममा बोल्दै माइती नेपाल मधेस प्रदेशकी संयोजक नितु यादवले मधेस क्षेत्रमा दिनहुँ बढ्दै गइरहेको मानव बेचबिखन तथा तस्करीका कारण र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा जानकारी दिइन्। उनले विशेष गरी युवाहरूलाई सानो लोभमा परेर कसरी तस्करहरूको जालमा फसाइन्छ भन्ने उदाहरणसहित यथार्थ विवरण प्रस्तुत गरेकी थिइन्।
यादवले समाजका हरेक वर्ग, विशेष गरी विद्यार्थीहरूलाई सजग र जागरूक रहन आग्रह गर्दै मानव बेचबिखनविरुद्धको संघर्षमा एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याइन्।






