जनकपुरधाम, श्रावण २१ — धनुषा टिभीको प्रथम वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा स्थानीय सञ्चार माध्यमको सशक्तिकरण र विज्ञापन वितरणमा समानुपातिकताको आवश्यकता औंल्याइएको छ।
पत्रकार कैलास दासले ग्रामीण क्षेत्रबाट रेडियो सञ्चालन हुँदै टेलिभिजनसम्मको यात्रा तय गरेकोमा सञ्चालक मुकेश कुमार ठाकुरलाई बधाई दिँदै विज्ञापन वितरणमा समानुपातिकताको माग गरे। पूर्वनगरप्रमुख रामज्ञान मण्डलले धनुषा टिभीले आवाजविहीनको आवाज बनेर उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै स्थानीय विज्ञापन स्थानीय मिडियामै प्रवाह गर्नुपर्नेमा जोड दिए।
महासंघ अध्यक्ष पुरन गुप्ताले पत्रकारिता क्षेत्रमा गुणस्तरीयता र समन्वयको कमी रहेको बताउँदै एकजुटताको आह्वान गरे। प्रमुख अतिथि सुरेश यादवले विज्ञापन बजेट प्रभावकारी रूपमा स्थानीय मिडियामा वितरण हुनुपर्ने आवश्यकता औंल्याउँदै ‘कपि–पेस्ट’ पत्रकारिताको अन्त्य गरेर व्यावसायिक पत्रकारिता नै समस्या समाधानको बाटो भएको बताए।
कार्यक्रममा अनिल कुमार निरालालाई उत्कृष्ट पत्रकारिता सम्मानपत्र र बिरेन्द्र रायलाई चिफ इडिटर सम्मान प्रदान गरिएको थियो। साथै सञ्चारकर्मी बिष्णु कुवर, इसिका भुजेल, वडा अध्यक्ष मिथिला साह, धिरेश दत्त, अरविन्द कुमार महतो, ओमप्रकाश साह, पूजा जनकपुर वाली, पत्रकार विजय ठाकुर, पत्रकार अनितेश यादव तथा न्युज एवनका सञ्चालक सनोज सहितलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो।
सहभागीहरूले धनुषा टिभीको प्रथम वार्षिकोत्सवले स्थानीय सञ्चार माध्यमका समस्याको बहस मात्र नभई समाधानका दिशामा पनि संकेत गरेको बताएका छन्।






