सप्तरीमा प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु

२०८२ श्रावण २१, बुधबार १७:२४

सप्तरी, श्रावण २१ : राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, मङ्गलबार राति राजगढ गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको तिघ्रामा गोली लागेर गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार, भारतीय सीमा नजिक ठूलो मात्रामा मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले ‘सर्च अपरेसन’ सञ्चालन गरेको थियो। सो क्रममा स्थानीय तस्करहरू र प्रहरीबीच झडप भई ढुङ्गामुढा सुरु भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको उनको भनाइ छ।

तर मृतकका आफन्त र स्थानीय नेताहरूले भने फरक दाबी गरेका छन्। राजगढका नेता दिपेन्द्र यादवले प्रहरीले लालुलाई बोलाएर नियन्त्रणमा लिएर गोली हानेर खेतमा फालेको आरोप लगाएका छन्। उनीहरूका अनुसार दोहोरो झडप नभई सामान्य विवाद भएको मात्र हो।

मृतकका ज्वाइँ एवं प्रदर्शनमा सहभागी संजीवनारायण यादवले पनि मृतक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लाइसेन्सधारी व्यापारी भएको बताउँदै, निहत्था अवस्थामा रहेका उनलाई प्रहरीले नियोजित रूपमा गोली हानेको आरोप लगाए।

घटनापछि मृतकका आफन्त र स्थानीयहरूले जिल्ला प्रहरी कार्यालयको गेट अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। यस बीचमा प्रहरीले राजगढ गाउँपालिका–२ बाट विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?