काठमाडौँ श्रावण २३ :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करीको प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरो (NCB) को टोलीले विमानस्थलमा निगरानीका क्रममा २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरालाई पक्राउ गरेको हो।
ब्राजिलबाट कतार हुँदै नेपाल आएकी फेरेरा भुटान जान लागेको अवस्थामा विमानस्थलको प्रस्थान कक्षबाट समातिएकी हुन्। उनको चेकजाँच गर्दा स्वेटरको ब्राभित्र कण्डममा भरेर लुकाएको १ केजी ९५० ग्राम कोकिन फेला परेको ब्युरोले जनाएको छ।
प्रहरीले फेरेराविरुद्ध लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान अगाडि बढाएको छ। यस घटनालाई अन्तर्राष्ट्रिय लागू औषध तस्करी सञ्जालसँग जोडिएको आशंका गरिएकोले विस्तृत अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।






