सुनसरी ,श्रावण २६ —सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान भएको बस र माइक्रोबस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले बताए ।
उनका अनुसार मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी छ भने घाइतेहरूलाई इनरुवा, विराटनगर न्युरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ । बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






