काठमाडौं, श्रावण २८ – अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० क्रिकेट सिरिजका सबै खेल कान्तिपुर मिडिया ग्रुपका च्यानलमार्फत प्रत्यक्ष प्रशारण हुने भएका छन्।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी र एडी रिलिजका निर्देशक आर.सी. रेग्मीबीच प्रसारण अधिकारसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौता अनुसार सिरिजका सबै खेल कान्तिपुर म्याक्समा देखाइने छन् भने नेपाल र बंगलादेश ‘ए’ टोलीबीचको खेल कान्तिपुर टिभीबाट प्रशारण गरिनेछ। यस सिरिजको सम्पूर्ण विज्ञापन अधिकार एडी रिलिजले पाएको छ।
आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरूप नेपालले यो भ्रमणलाई उपयोग गर्नेछ। लिग चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल हुनेछ र त्यसपछि फाइनल खेलिनेछ। फाइनलसम्म पुगे नेपालले कुल आठ खेल खेल्नेछ।






