जनकपुरधाम श्रावण ३०— सामाजिक सञ्जाल टिकटकमार्फत हिन्दू धर्मावलम्बीलाई लक्षित गर्दै गाली–गलौज र धम्की दिने भिडियो सार्वजनिक गर्दै आएका २३ वर्षीय इरसाद खानलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वरुण बहादुर सिंहका अनुसार खानलाई बिहीबार जनकपुरधामबाट नियन्त्रणमा लिइएको हो। जनकपुरधाम उपमहानगरपालिका–५ का समिम खानका छोरा इरसादले गुन्डा नामको टिकटक आइडी प्रयोग गर्दै अपमानजनक शब्द प्रयोग गर्ने मात्र नभई मार्ने धम्कीसमेत दिने भिडियोहरू पोष्ट गर्दै आएका थिए।
प्रहरीले जनाएको छ, विदेशमा रहेका बेला समेत उनले हिन्दू धर्मावलम्बीलाई लक्षित गर्दै गैरसामाजिक वक्तव्य र छाडा गतिविधि गरेका थिए। हाल उनको मोबाइल फोन र सामाजिक सञ्जाल गतिविधिको डिजिटल विश्लेषण भइरहेको छ।
यो घटनाले सामाजिक सञ्जालमार्फत घृणा फैलाउने सामग्रीबारे निगरानी र कानुनी कारबाही कडाइका साथ गर्नुपर्ने आवश्यकता पुनः पुष्टि गरेको प्रहरीले जनाएको छ।






