महोत्तरीको जलेश्वर वाड-१० बाल विवाह मुक्त वडाको रुपमा घोषणा

२०८२ श्रावण ३१, शनिबार २२:५१

महोत्तरी,३१ साउन । जलेश्वर नगरपालिका–१० लाई औपचारिक रुपमा बाल विवाह मुक्त वडाको रुपमा घोषणा गरिएको छ। शनिबार आयोजित विशेष घोषणासभामा वडालाई बाल विवाह मुक्त वडाको रुपमा घोषणा गरिएको हो।

कार्यक्रम वडास्तरीय बाल अधिकार समितिका संयोजक तथा जलेश्वर नगरपालिका-१० का वडाध्यक्ष विकाउ दास कथबनियाको संयोजनमा सम्पन्न भएको हो । सभामा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका अध्यक्ष सुमन लाल कर्ण, जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नगर उपप्रमुख रोशन खातुन, रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीलगायत समाजसेवी, पत्रकार तथा युवाको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै सभामुख मण्डलले विवाह जीवनको सम्पूर्ण साधन नभई एउटा हिस्सा मात्रै भएको बताउँदै समयमै विवाह गर्नुपर्नेमा जोड दिए। उनले कम उमेरमै विवाह नगर्न गाउँवासीलाई आग्रहसमेत गरे।

त्यसैगरी रतौली युवा क्लबका कार्यकारी निर्देशक चौधरीले बालविवाह समाजका लागि भयावह रोग भएको उल्लेख गर्दै यसविरुद्ध क्लब निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाए। “बाल विवाह हुने विवाहमा सहभागी नहुने संकल्प हामी सबैले यहीँबाट गर्नुपर्छ,” उनले भने।

सभाध्यक्षसमेत रहेका वडाध्यक्ष कथबनियाले बाल विवाह मुक्त वडाको जिम्मेवारी थपिएको बताउँदै वडालाई नमुना वडामा रूपान्तरण गर्न सबै वडावासी र नगरवासीको साथ अपरिहार्य हुने उल्लेख गरे।

घोषणासभा USAID, सेभ द चिल्ड्रेन, रतौली युवा क्लब, महिला जागरण समाज महोत्तरी र जलेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?