जनकपुरधाम, भदौ ३ – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ। मङ्गलबार जनकपुरधाममा आयोजित एसइई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय ले आयोजना गरेको यस कार्यक्रममा पाँच जिल्ला (धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी) का प्रत्येक स्थानीय तहबाट उत्कृष्ट नतिजा हासिल गर्न सफल छात्र र छात्राहरूलाई साइकल प्रदान गरिएको छ।
मुख्यमन्त्री सिंहले दिनानुदिन खस्किँदै गएको शिक्षाको स्तर उकास्न विद्यार्थी, शिक्षक, अभिभावक र सबै सरोकारवालालाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो। उहाँले यस वर्षको एसइई नतिजा कमजोर भए पनि उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै बधाई दिनुभयो।
“विगतमा मधेस प्रदेशको शिक्षाको छुट्टै पहिचान थियो, त्यसलाई पुनः स्थापित गर्न सरकारले योजनाबद्ध रूपमा काम गर्नेछ,” मुख्यमन्त्री सिंहले भन्नुभयो। उहाँले लोकसेवा आयोगका रिक्त पदहरू पूर्ति गरी करिब साढे पाँच सय कर्मचारीको सिफारिस भएको पनि जानकारी दिनुभयो। महिलाहरूलाई लोकसेवाको तयारी गरेर आवेदन दिन पनि उहाँले आग्रह गर्नुभयो।
सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउने अभिभावकले पनि ध्यान दिएमा शैक्षिक गुणस्तरमा सुधार आउने भन्दै सबैको सहकार्य जरुरी रहेको उहाँले बताउनुभयो।
शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको अध्यक्षतामा भएको यस कार्यक्रममा नेपाल एसबिआई बैँक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १५० जना विद्यार्थीलाई साइकल हस्तान्तरण गरेको थियो। कार्यक्रममा भारतको महावाणिज्य दूतावास वीरगन्जका प्रमुख देवी सहाय मिना, नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रा, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुर लगायतको उपस्थिति थियो।






