जनकपुरधाम, भदौ ६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, मधेश प्रदेश कार्यकारिणी समितिको पहिलो बैठक शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठक पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको हो।
बैठकमा नवनियुक्त प्रदेश पदाधिकारी र कार्यकारिणी सदस्यहरूले पदभार ग्रहण गर्नुका साथै शपथ लिएका छन्। बैठकले संगठन सुदृढीकरण, प्रदेश सरकारसँग सम्बन्धित विषय तथा विभिन्न राजनीतिक एजेन्डामा विस्तृत छलफल गर्दै आवश्यक निर्णयहरू गरेको छ।
संगठन विस्तार, वडादेखि प्रदेशस्तरीय अधिवेशनसम्मको तयारी, मुलुकको वर्तमान राजनीतिक परिस्थिति र प्रदेश सरकारको गतिविधि सम्बन्धी विषयमा समेत सहभागीहरूले आफ्ना सुझाव राखेका थिए। बैठकमा प्रस्तुत विचार–सल्लाहहरूमाथि गम्भीर बहस भएको र आगामी दिनमा संगठनात्मक गतिविधि तीव्र बनाइने प्रतिवद्धता गरिएको छ।
पार्टी नेतृत्वले बैठकलाई सफल र मार्गदर्शक भएको बताउँदै प्रदेशस्तरमा लोसपाको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने दिशामा कार्य अघि बढाइने जनाएको छ।






