राजविराज,११ भदौ:रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरकी रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ।
बुधबार दिउँसो पासवानले डिजेल खन्याएर आत्मदाह प्रयास गरेका थिए। स्थानीयले माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा उनलाई जलेको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए। तत्पश्चात् गम्भीर घाइते अवस्थामा प्रहरीले उद्धार गरी तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उपचारकै क्रममा पासवानको मृत्यु भएको हो।
आत्मदाह प्रयास गर्नु अघि पासवानले एक भिडियो बनाएका थिए, जसमा उनले रुबी साहको हत्या गरेको र उनको शव सुटकेसभित्र हालेर फालेको स्वीकार गरेका थिए।
गत हप्ता रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा रुबी साह फेला परेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






