जनकपुरधाम , भाद्र १८ : खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धम्की दिएको आरोपमा पक्राउ परेकी स्थानीय युवती किरण साहलाई बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीको निगरानीमा अस्पताल लैजाइएको छ।

परिवारका अनुसार हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि उनलाई उपचारका लागि लगिएको हो। उपचारपछि अवस्था सामान्य हुँदै गएको बताइएको छ।

साहलाई केही दिनअघि मन्त्रीलाई गरिएको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ गरिएको थियो। उक्त अडियोमा उनले हैजाको कारण जनजीवन प्रभावित भएको भन्दै खानेपानी आपूर्ति र परीक्षणबारे मन्त्रीसँग कडा प्रश्न गरेकी थिइन्। तर सो संवादलाई धम्कीको रूपमा व्याख्या गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनापछि वीरगञ्जमा यसबारे चर्को बहस सुरु भएको छ। सर्वसाधारणले प्रश्न सोध्नु अपराध होइन भन्दै सामाजिक सञ्जालमार्फत साहको समर्थनमा आवाज उठाइरहेका छन्।






