काठमाडौं,२९ भदौ। नेपालको ऐतिहासिक जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको अवस्था बुझ्न जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आइतबार सिभिल अस्पताल, बानेश्वर पुगे।
अस्पतालमा उपचाररत जेन–जी युवाहरूले भावुक हुँदै अध्यक्ष डा. राउतसँग भने, “परिवर्तनका लागि हामी जस्तोसुकै बलिदान दिन तयार छौं, तर हामीलाई visionary र बौद्धिक सक्षम नेतृत्वको आवश्यकता छ। कृपया हामीलाई साथ दिनुहोस् र सही मार्ग निर्देशन गर्नुहोस्।”
उनीहरूको आग्रह सुन्दै डा. राउतले जेन–जी पुस्ताले देखाएको अदम्य साहस, ऊर्जा र बलिदानी भावनाको उच्च प्रशंसा गर्दै भने, “यो योगदानलाई खेर जान दिइने छैन। जनमत पार्टीले यसलाई देशको स्थायी हित, निकास र समृद्धिको लागि सदुपयोग गर्नेछ। हामी जेन–जी युवाहरूसँग सधैं रहन्छौं।”
डा. राउतले जनमत पार्टीले डेढ वर्षअघि नै अघि सारेको “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” मार्गचित्र जेन–जीले उठाएका मुद्दाहरूसँग मेल खाने स्मरण गराउँदै अब मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
जनमत पार्टीले जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा पीडित सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, पार्टीले देश र जनताको अधिकार, स्वाभिमान र भविष्यका लागि गरिएको यो बलिदानलाई इतिहासले कहिल्यै बिर्सने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेको छ।






